प्रदेशको निर्णय लत्याउंदै प्रदेश १ मा प्रचण्डका ज्वांई मन्त्री बनेपछि माओवादीभित्र असन्तुष्टि


विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । कार्कीले शुक्रबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि उनले चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।

कार्कीले माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वांई हुन् । उनि माओवादीमा सबैभन्दा जुनियर सांसद हुन् ।

सिनियर नेतालाई वाइपास गरेर आचार्यलाई मन्त्री बनाइएको भन्दै माओवादीभित्र असन्तुष्टि छ । माओवादी केन्द्रको प्रदेश १ का इन्चार्ज राम कार्की समेत उनलाई मन्त्री बनाउन नहुने पक्षमा थिए ।

आचार्यलाई मन्त्री बनाउन माओवादीको प्रदेश कमिटी सकरात्मक नभएपनि केन्द्रको दबावमा उनलाई मन्त्री बनाइएको हो । माओवादी केन्द्रको प्रदेश पदाधिकारीको बैठकले मन्त्री बनाउनेमा उनको नाम चार नम्बरमा सिफारिस गरेको थियो ।

प्रदेशले राजेन्द्र कार्की, दुर्गा चापागाई र गणेश उप्रेतीको नाम सिफारिस गरेपनि दाहालको निर्देशनमा उनलाई मन्त्री बनाइएको हो । प्रधानमन्त्री दाहालमाथि नातावादको आरोप लाग्दै आएको छ ।

आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि मुख्यमन्त्री कार्कीले एमालेका तीलकुमार मेन्याङ्बो, राप्रापाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बू लाई मन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement