सम्झौताको ६ वर्षपछि कार्यान्वयनको चरणमा एमसीसी, अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउदैँ


काठमाण्डु- अमेरिकी शीर्ष कूटनीतिज्ञ नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी अनुदान परियोजना एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्नुअघि अमेरिकी शीर्ष कूटनीतिज्ञको नेपाल भ्रमण हुन लागेको हो । जसअनुसार एमसीसी परियोजना अघि बढाउन नेपाल सरकारसँग समन्वय गरिरहेका अमेरिकाका लागि मध्य एसिया र दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्‍त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री लु जुलाई १४ अर्थात असार २९ गते काठमाण्डु आउने भएका हुन् । दक्षिण एसिया भ्रमणका क्रममा उनी शुक्रबार काठमाण्डु आइपुग्ने र केही राजनीतिक भेटवार्ता गरेर फर्किने जनाइएको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद र अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसबारे परराष्ट्र मन्त्रलायले औपचारिक घोषणा भने गरेको छैन।

सम्झौतामा हस्ताक्षर भएको करिब ६ वर्षपछि अमेरिकी अनुदान परियोजना एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । सन् २०१७ सेप्टेम्बरमा नेपालले एमसीसी परियोजना लागु गर्ने सम्झौता गरेको थियो।

परराष्ट्रमन्त्री एनपी साउदले एमसीसी परियोजना आगामी अगस्टबाट कार्यान्वयनमा जाने बताएका छन् । ‘एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गर्नुअघि आवश्यक प्रक्रियाहरु करिब पूरा भएको स्थिति छ। अगस्टदेखि कार्यान्वयनमा जान्छ।’, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा परराष्ट्रमन्त्री साउदले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement