एमसीसीबारे अमेरिकी धारणा :नेपालले चीनको प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्नेमा आशावादी छौं


काठमाडौं – अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जति विवाद भएपनि सो सम्झौताबारे नेपालले स्वतन्त्र निर्णय लिने बताएको छ ।

अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला ब्युरोकी प्रिन्सिपल डेपुटि एसिसटेन्ट सेक्रेटरी एलिस जी वेल्सले एसियाली मुलुकका पत्रकारहरुसंग बुधबार गरिएको एक भर्चुअल अन्तरक्रियामा नेपालले एक स्वतन्त्र राष्ट्रको रुपमा चीनको कुनै प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्ने अपेक्षा  गरिन्। उनले उक्त सम्झौता चांडै संसदबाट अनुमोदन हुने विश्वास समेत आफुलाई भएको बताईन ।

उनले भनेकी छन् ‘नेपाल सरकार सार्वभौम छ। त्यसैले उसले चीनले दिने आदेश मान्ने छैन र उसले आफ्ना जनताको आर्थिक कल्याण तथा आफ्नो मुलुकको हितको पक्षमा कदम चाल्नेछ भन्नेमा म विश्वस्त छु,’

एमसीसीबारे सत्तारुढ पार्टीको नेतृत्व तहमै गम्भीर विवाद भइरहंदा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीको पक्षमा सशक्त प्रतिरक्षा गरेको देख्दा आफू निकै खुसी भएको बताइन्। वेल्सले एमसीसी परियोजना ऋण नभई अनुदानको रुपमा आउने यो सहयोग नेपालमा भने राजनीतिक फुटबल बन्न पुग्नु दुखद् भएको टिप्पणी गरिन् ।

अमेरिकाले प्रदान गर्ने ५० करोड अमेरिकी डलर बराबरको सो रकममा नेपाल आफैंले पनि १३ करोड डलर थप गरेर नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न प्रयोग गर्ने र त्यसले अन्ततः अन्तर्रा्ष्ट्रिय लगानी भित्र्याउन सहयोग र्पुयाउने उनको भनाई थियो ।

वेल्सले २००४ मा एमसीसी स्थापना गरिएको भन्दै यसलाई अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको इन्डो प्यासिफिकसम्बन्धी दृष्टिकोणसंग जोड्नु असान्दर्भिक भएको बताइन्। इन्डो प्यासिफिकसम्बन्धी दृष्टिकोणसंग एमसीसीलाई जोडेकोमा असन्तुष्टि जनाउंदै उनले यस्तो कुराले कुनै मुलुकको आर्थिक विश्वास अभिवृद्धि गरी त्यहांको गरिबी निवारण गर्ने यो कार्यक्रमको मुल उद्देश्यलाई नै छायांमा पार्ने दावी गरिन् ।

एमसीसीबारे भएका पछिल्ला बहस मुख्यतः नेपालको आन्तरिक राजनीतिसंग जोडिएको र यो सम्झौता गर्न सहभागी नेपालको नेतृत्वले नेपाली जनताको पक्षमा उभिंदै एमसीसीलाई अगाडी बढाउने निर्णय गर्छन् भन्नेमा आफु विश्वस्त रहेको वेल्सको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement