संसदबाट एमसीसी सम्झौंता अनुमोदन भएपछि अमेरिका खुसी


काठमाण्डु- नेपालले संसदबाट एमसीसी सम्झौंता पारित गरेपछि अमेरिकाले त्यसको स्वागत गरेको छ । नेपालले आइतबार राति ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौंता संसदबाट अनुमोदन गरेसंगै अमेरिकाले विज्ञप्ति जारी गरेर स्वागत गरेको हो ।

विज्ञप्तिमा एमसीसी संसदबाट अनुमोदन भएसंगै त्यसले नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्ने तथा विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्च घट्ने जनाइएको छ ।

एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दबाव दिएको अमेरिकाले विज्ञप्तिमा भने अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सध नेपाल सरकारको हातमा रहेको दावी गरेको छ ।

नेपाल सरकारले उर्जा र यातायातको क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि २०१७ मा सम्झौतामा हस्ताक्षर भएको भन्दै अमेरिकाले यसबाट २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने आशा व्यक्त गरेको छ ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ पुगेको भन्दै यो समयमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको अमेरिकाले स्मरण गरेको छ ।

यो परिवर्तनमा अमेरिका जहिले नेपालको साथ उभिएको र नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूमा सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने भन्दै दुई देशको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement