एमसीसी उपाध्यक्ष नेपाल भ्रमणमा आउंदै, यस्ता छन् भ्रमणका एजेण्डा

एमसीसी उपाध्यक्ष नेपाल भ्रमणमा आउंदै, यस्ता छन् भ्रमणका एजेण्डा


काठमाण्डु– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् । एमसीसी परियोजना लागु गर्ने बारेमा नेपालमा बिवाद भइरहेको बेला उनी अर्को हप्ता नेपाल भ्रमणमा आउने भएकी हुन ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागको बताइएको छ । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले यसअघि नेपालको भ्रमण गरेका थिए ।

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार केही समयअघि मात्र उपाध्यक्षमा नियुक्ति भएकी थिईन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी भएको बताइन्छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरु र उच्च सरकारी अधिकारीसंग छलफल गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको बेला उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाको बारेमा समेत सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्ने कार्यक्रम तय भएको छ । सुमारले एमसीसी मुख्यालयमा गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने भुमिका निर्वाह गरिरहेकी छन् ।

एमसीसी परियोजनालाई राजनीतिक दलहरुले राजनीतिक एजेण्डा बनाएका छन् । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना दलहरुको बिवादका कारण अझै अघि बढ्न सकेको छैन ।

नेकपाको सरकार हुंदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, भीम रावल,पम्फा भुषाल र देव गुरुङलगायतका नेताहरुले एमसीसी राष्ट्रहितमा नभएको भन्दै परियोजना अघि बढ्न नहुने धारणा राखेपछि विवाद भएको थियो ।

प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने परियोजना अघि बढाउन सकरात्मक छन् । देउवाका विश्वासपात्र कानुनमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले बुधवार एमाले अध्यक्ष ओलीलाई भेटेर एमसीसी परियोजना अघि बढाउन छलफल गरेका छन् । कार्की नै अर्थमन्त्री हुंदा अमेरिकाको वासिंङटन डीसीमा एमसीसीमा हस्ताक्षर भएको थियो ।

सत्तारुढ गठवन्धनमा एमसीसीलाई लागु गर्ने विषयमा बिवाद छ । एमसीसीबारे गठवन्धनमा बिवाद भइरहेको बेला कार्की र एमाले अध्यक्ष ओलीबीच भेट हुनुलाई कतिपयले दुई दलवीच सहकार्य हुन लागेको अर्थमा विश्लेषण गरेका छन् ।

नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयां) पाउने छ ।