नेपालको संसदबाट एमसीसी पास हुनेमा ढुक्क छु : फातिमा


काठमाण्डु – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता संसदबाट पास हुनेमा आफु ढुक्क रहेको बताएकी छन् ।

चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष सुमारले नेपालको जारी संसद्ले एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्दै कार्यान्वयन गर्नेमा आशावादी रहेको बताएकी हुन् ।

‘अनुमोदन जतिसक्दो चाँडो होस् भन्ने हाम्रो चाहना छ । म निकै आशावादी छु । यहाँका ८ राजनीतिक दलले एमसीसी मनुमोदन गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनिन् । उनले राजनीतिक दलहरुलाई एमसीसी छिटो भन्दा छिटो अनुमोदन गरेर कार्यानवयनमा लाने मार्ग खोल्न आग्रह समेत गरिन् ।

‘म यहाँ एमसीसी परियोजना कार्यान्वयनका लागि दबाव दिन आएकी होइन्, हामी नेपाल सरकारको इच्छामा मात्र काम गर्छौं । यो दुई देशको सरकारले गरेको सम्झौता हो, त्यसलाई नेपालको संसद्ले अनुमोदन नगर्दासम्म परियोजना कार्यान्वयन गर्न सकिँदैन,’ उनले भनिन् ।

४ दिने नेपाल भ्रमणका क्रममा सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उपेन्द्र यादव लगायत उच्च राजनीतिक नेतृत्वसँग एमसीसी परियोजनाका विषयमा छलफल गरेकी थिइन् ।

उनले परियोजना कार्यान्वयनको ‘डेडलाइन’ नतोकिएको भए पनि सम्झौता भएको चार वर्ष बितिसकेकाले अब ढिलाई गर्न नहुने बताइन् । सुमारले अमेरिकाको नेपालसँगको सम्बन्ध विशेष र सात दशक पूरानो भएको स्मरण गर्दै यो परियोजना अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको बताइन् ।

सुमारले एमसीसीबारे नेपाल सरकारले पठाएका विभिन्न प्रश्नका विषयमा अमेरिकाले आधिकारिक रुपमा पत्रमार्फत जवाफ दिइसकेकाले सबै विषय प्रष्ट भइसकेको बताइन् । ‘हामीले पठाएको पत्र अमेरिकी सरकारको आधिकारिक धारणा हो, त्यसले सबै विषय प्रष्ट पार्छ भन्ने लाग्छ,’उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement