काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रूप अन मनी लाउन्ड्रिङ (एनपीजी) प्रतिनिधिहरूबिच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटका लागि एपीजीका डेपुटी एक्जुकेटिभ सेक्रेटरी डेभिड श्यानन र पोलिसी अफिसर किया सासल प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
भेटघाटका क्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निकाल्न नेपालले प्रस्तुत गरेको कार्ययोजनाका सन्दर्भमा बृहत् छलफल भएको छ । सो क्रममा प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वय र नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्थाबारे समीक्षा गरिएको थियो ।
वित्तीय अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदानप्रदान, आपसी सहयोग, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशाका विषयमा समेत २ पक्षबिच गहन संवाद भएको नेपाल प्रहरीले जनाएको छ ।
छलफल कार्यक्रममा वित्तीय जानकारी एकाइ (एफआईयू) प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरू र अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।




प्रतिक्रिया