गृहमन्त्री लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनानबीच शिष्टाचार भेट


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा राजदूत हनान गोडरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेका छन् ।

गृहमन्त्री लामिछानेले नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउन पहल गर्ने लगायतका विविध विषयमा छलफल गरेका छन् ।

राजदूत हनानले विपिन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरेका छन् ।

दुवैबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जना लगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement