ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकका उपमहानिर्देशकबीच भेट

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकका उपमहानिर्देशकबीच भेट


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक दक्षिण एशियाली विभागकी उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भेटवार्ता गरेकी छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्न समेत सरकारले ध्यान दिने उनले बताए ।
ऊर्जामन्त्री खड्काले २ ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडीबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको बताए ।
भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत् आयोजना र दूधकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । उनले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैंकले धेरै क्षेत्रमा सहयोग गर्ने बताइन् ।
भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड काउकोइस लगायतको सहभागिता थियो ।