ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेटवार्ता

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा २ देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रको सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्यलाई पूरा गर्न दातृ निकायको साथ र सहयोग आवश्यक रहेको बताए ।

मन्त्री खड्काले वायु र सौर्य ऊर्जामा उरुग्वेको सफलताको उच्च मूल्यांकन गर्दै नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग र लगानीका सम्भावना पहिचान गर्न आग्रह गरे । व्यापार, ऊर्जा क्षेत्रमा लगानी दीगो विकास तथा पर्यटनको क्षेत्रमा सहकार्य विस्तार गर्न प्रशस्त सम्भावना नेपालले देखेको उनले बताए ।

भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको बताउँदै अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताए ।

उनले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालको सीप, अनुभव र दक्षता उरुग्वेलाई काम लाग्ने भएकाले अनुभव आदानप्रदान गर्न सकिने बताए ।