शिक्षामन्त्री पोखरेलद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल

शिक्षामन्त्री पोखरेलद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको थियो ।

अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका वास्तविक समस्या, ऐन कार्यान्वयनसँग सम्बन्धित सुझाव तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत विषयहरू प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गरिने बताए ।

शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने उनले धारणा व्यक्त गरे । मन्त्री पोखरेलले समग्र शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन रूपमा नीतिगत समाधान खोज्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सबैको समन्वय र सहकार्यबाट विद्यालय शिक्षाको दीर्घकालीन सुधार गरिनुपर्नेमा जोड दिए ।