भारतीय विदेश सचिव श्रृंगला र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता


काठमाण्डु – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालय सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बतायो ।

परराष्ट्रमन्त्रीसँग भेटनुअघि विदेशसचिव श्रृंगला नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरत पौड्याल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए ।

भारतले गतवर्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा प्रकाशित गरेपछि दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको थियो । दुई देशबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको समयमा शुरु भएको परराष्ट्र सचिवस्तरीय वार्तालाई महत्वका साथ हेरिएको छ ।

काठमाण्डु उत्रिएपछि विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव श्रृंगलाले नेपाल भारत सम्बन्ध बलियो रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement