काठमाण्डु – अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका विश्वचर्चित फुटबलर लियोनल मेसी अर्को वर्ष आफ्नो देशको स्टेडियममा फर्किने भएका छन्। यसपटक उनी राष्ट्रिय टोलीको नभई अमेरिकी क्लब इन्टर मियामीको गुलाबी जर्सीमा देखिन सक्नेछन्।
इन्टर मियामीले आगामी वर्ष गर्ने प्री(सिजन भ्रमणका क्रममा अर्जेन्टिनाको चर्चित क्लब रिभर प्लेटसँग मैत्रीपूर्ण खेल खेल्ने सम्भावना छ। उक्त खेल राजधानी ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा हुने बताइएको छ।
इन्टर मियामीका प्रशिक्षक किली गोन्जालेजले रिभर प्लेटसँगको खेल लगभग निश्चित भइसकेको बताएका छन्।
आठ पटकका बालोन डीुओर विजेता मेसीले गत अक्टोबर ६ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदाइ लिएका थिए। बेनिनविरुद्धको बिदाइ खेलमा अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले एक गोल र दुई असिस्ट गरेका थिए।
त्यसक्रममा समर्थकहरूले उनलाई भावुक बिदाइ दिएका थिए। भाषण, आँसु र समर्थकहरूको अपार मायाबीच मेसीले अर्जेन्टिनाको जर्सीमा अन्तिम पटक मैदानमा उत्रिएका थिए।
उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अर्जेन्टिनाका लागि २०८ खेल खेलेका थिए।
सन् २०२२ को विश्वकप जिताएर अर्जेन्टिनालाई ऐतिहासिक सफलता दिलाएका मेसीको राष्ट्रिय टोलीसँगको यात्राको अन्त्य भावुक बनेको थियो। अब इन्टर मियामीबाट अर्जेन्टिना फर्किएमा उनले सोही मोनुमेन्टल रंगशालामा अर्को ऐतिहासिक उपस्थिति जनाउनेछन्।


प्रतिक्रिया