काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वको विभिन्न ठाउँमा नेपाल राष्ट्रिय बैंक तथा सहकारी विभागबाट अनुमति नलिर्इ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने वित्तिय संथाविरुद्ध अप्रेशन शुरु गरेको छ ।
प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ओपन इन्भेष्टमेन्टबाट अवैध रुपमा सङ्कलित रकम दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ बरामद गरेको छ । छिन्ताङ इन्भेष्टमेन्टले भने केही समय अघिबाट मात्रै कारोबार गर्न सुरु गरेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि. धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि. बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि. इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि. इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य रहेका छन् ।
सीआईबीका अनुसार बैंक तथा सहकारीको ब्याजभन्दा बढी ब्याज दिने प्रलोभन देखाएर उनीहरुले बचत सङ्कलन गरेका थिए । उक्त बचतलाई २४ प्रतिशतभन्दा बढी ब्याज असुलेर उनीहरुले ऋण प्रवाह गर्दै आएका थिए । प्रहरीको अप्रेशनमा परेका कतिपय कम्पनीहरुले कार्यालय समेत झोलाबाटै सञ्चालन गर्ने गरेको खुल्नमा आएको छ ।
‘स्थानीय रुपमा कार्यालय एक ठाउँमा नराखी आफ्नो सुविधाका लागि झोलाबाट नै कार्यालय सञ्चालन गर्ने गरेको पनि पाइएको छ’, सीआईबीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
प्रतिक्रिया