नेपालमा मिथेन ग्यास भेटिएपछि भारतीय मिडियामा तरंग

नेपालमा मिथेन ग्यास भेटिएपछि भारतीय मिडियामा तरंग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैलेखमा मिथेन ग्यास भेटिएको समाचार भारतीय मिडियामा चर्चा पाएको छ ।

दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै शुक्रबार अधिकांश भारतीय मिडियाले यसबारे चर्चा गर्दै नेपाल अब मालामाल हुने उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्‍यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक–फरक समाचार बनाएका छन् ।

त्यसमध्ये इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । इन्डिया टिभीले लेखेको छ, ‘यस्तो खोज भएको छ, जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन ।’

त्यस्तै, नवभारत टाइम्सले ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पार्‍यो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । अन्य भारतीय मिडियाले पनि खजाना भेटिएको भन्दै समाचार छापेका छन् ।
द इकोनोमिक टाइम्स, डेली एक्सिलेसर डटकम, आउटलुक बिजीनेससहितका अनलाइनले पीटीआईकै समाचारलाई साभार गरेको छ ।

चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो । चिनियाँ टोलीको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको अनुमान छ ।

चीनको जिओलोजिकल सर्भे कम्पनीले सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनेछ । चीनको चाइना जिओलोजिकल सर्भेले भौगर्भिक अध्ययन गरेको हो भने सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले जमिनमा ड्रिलिङ गरेर अध्ययन गरेको हो ।

नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन ४ वटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिएका छन् ।