मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट, उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल


काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।  सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा साेमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको हाे ।

मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताए । उनले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गरे । उनले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एण्ड कमर्शबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई जोड दिएका थिए ।

उपभोक्ता हितका विषयमा दुई देशबीचका कानून विषयका जानकारी आदानप्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाइराख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताए ।

जवाफमा चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौँ वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिए । उनले दुई देशबीचको सहकार्यले एक अर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताए । उनले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement