साना मुलुकको सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्दा कुनै गुटमा लागेको भन्न मिल्दैन : परराष्ट्रमन्त्री खड्का


काठमाण्डु– युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित ठाउँमा पुग्न सफल भएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै भारतको उद्धार टोलीको सहयोगमा युक्रेनबाट ५ सय ३३ जना नेपालीको उद्धार गरिएको बताएका हुन् । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेका छन् ।

उनले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिएका छन् ।

उनले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको उनले दावी गरे ।

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री खड्काले नेपाल कुनै गुटमा नलागेको भन्दै नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार युक्रेनको पक्षमा उभिएको बताए ।

मन्त्री खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी समेत दिएका छन् । खड्काले कुन तहको भ्रमण हुने हो भन्ने बारे भने कुनै जानकारी दिएनन् । उनले समय आएपछी मात्रै भ्रमणबारे जानकारी गराउने बताए ।

उनले चीनसंगको नाका खुलाउने विषयमा छलफल भएको र छिट्टै सुचारु हुनेमा आफु आशावादी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement