जताजता दया उता उता मिरुना


काठमाण्डु- ‘कबड्डी ४’मा पहिलो पल्ट जोडी भएर अभिनय गरेका दयाहाङ राई र मिरुना मगरलाई ‘जारी’को सफलताले बजारमा खोजिने जोडी बनायो । यसपछि त के थियो, निर्माता दया र मिरुनालाई फिल्मको ओइरो लागेको छ ।

अहिले बजारमा नाम सार्वजनिक भएको कम्तीमा आधा दर्जन फिल्ममा दया र मिरुनाले सँगै काम गर्दैछन् । जोडीकै रुपमा सबै फिल्ममा काम नगर्लान् तर दया र मिरुनाको उपस्थिति निर्माताका लागि बक्स अफिस ग्यारेन्टी हुन थालेको छ ।

अहिले बजारमा हिरोमा दयाहाङ राई र हिरोइनमा मिरुना मगरको हातमा सर्वाधिक फिल्म छन् । बजार चर्चाअनुसार दयाले अहिलेसम्म १९ वटा फिल्म साइन गरिसकेका छन् । त्यही कारण आउँदो दुई वर्षसम्मद या प्याक छन् । यही अवस्था मिरुनाको पनि छ । किनकि जहाँ दया हुन्छन् निर्माता मिरुना मगरलाई पनि राख्ने ताक छाड्दैनन् ।

बजारमा सार्वजनिक भएका फिल्मका नाम हेर्ने हो भने अहिले नै आधा दर्जन फिल्ममा दया र मिरुनाको जोडी देख्न पाइन्छ । ‘जारी’पछि यो जोडी ‘नांगो गाउँ’मा देखिएको थियो । यसपछि भने दया र मिरुना पर्दामा देखिँदैछन् चलचित्र ‘रंगेली’मा । यो चलचित्र फागुन २६ मा प्रदर्शनमा आउँदैछ ।

‘रंगेली’को प्रदर्शनपछि भने दया र मिरुनाका फिल्म सुटिङमा निस्कनेछन् । यसरी फ्लोरमा निस्कने पहिलो चलचित्र हुनेछ ‘मनसरा’ । यो फिल्मको सुटिङ माघदेखि सुरु हुनेछ । योपछि दुवैले ‘घर ज्वाइँ’का लागि समय दिनेछन् । ‘लोकल हिरो’ कहिले फ्लोरमा निस्कने छ टुंगो छैन तर यो फिल्ममा पनि फेरि एक पटक दया र मिरुनाले काम गर्नेछन् ।

यसैबीच दुवैले ‘गाउँ नै रमाइलो’ साइन गरिसकेका छन् भने चर्चाअनुसार अर्को नयाँ वर्षमा तयार हुने गरी ‘जारी २’को पनि काम सुरु हुँदैछ । यसरी हेर्दा जताजता दया छन् त्यहाँ त्यहाँ मिरुना पनि छुट्ने सम्भावना कमै छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement