असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली


नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अाइतबार नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताएका हुन् ।

 ‘नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए, सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले भूमिका खेलेको छ ।’ उनले भने ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा भारतीय सहयोगको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उनले दावी गरेका छन् ।

नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गङ्गाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता कुराको आवश्यक प्रक्रिया अघि बढाउने कुराले विश्वासको वातावरण पैदा गरेको सिद्ध भएको प्रभानमन्त्रीको भनाइ थियो ।

समृद्ध नेपाल निर्माण अभियानमा भारतीय निजी क्षेत्र लगानी गर्न तत्पर रहेको र नेपालमा लगानीमैत्री वातावरण रहेको भन्ने धारणा पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीप्रतिको विश्वास र व्यवहारिक कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement