एमकेका व्यापारीक साझेदार खोज्दै प्रहरी


काठमाडौं – सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्।

‘कम्प्युटर र कागजपत्र बरामद भएको छ, जसबाट तस्करीका अन्य व्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान गर्ने बाटो खुलेको छ’, टोलीका एक सदस्यले भने। उनको घरबाट ३० लाख रुपैयाँभन्दा बढी नगद, केही थान सुनका बिस्कुट बोक्ने ज्याकेट, सुनका गहना र एउटा गाडी बरामद भएको थियो। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित टोलीका अनुसार ३८ सय केजी सुन तस्करीमा अग्रवाल मुख्य लगानीकर्ता हुन्। सरकारले अनुसन्धान टोली गठन गरेलगत्तै उनी फरार भएका थिए । उनको घरमा दुई महिनादेखि ताला लागेको थियो। घरमा तीन महिनायता प्रहरीले निगरानी गर्दै आएको थियो । स्रोतका अनुसार उनका व्यापारिक साझेदारमा केही उच्च कर्मचारीका आफन्तसमेत रहेको भन्दै अनुसन्धान सुरु भएको छ।

छानबिन टोलीका अनुसार विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा बढी लगानी अग्रवालकै हुने गरेको थियो भने २०७० सालमा बरामद भएको ३५ किलो सुनमा पनि उनको लगानी देखिएको थियो । उनका साझेदार कोको थिए भन्ने जानकारस् उनको बैंकिङ कारोबार र कम्प्युटरमा रहेका विवरणबाट खुल्न सक्ने अनुसन्धान टोलीको विश्वास छ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ। ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान टोलीले अग्रवाल, भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरिसकेको छ। अग्रवाल, गुरुङ र घले तस्करीको सुनमा लगानी गर्ने प्रमुख व्यक्ति रहेको टोलीको निष्कर्ष छ। आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement