महेन्द्रनगर – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल सहितको टोलीले शुक्रबार कञ्चनपुरको दोधाराचादँनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ ।
सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधाराचादँनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएका हुन् ।
निर्माणाधीन सुक्खा बन्दरगाहका नेपालतर्फका प्रतिनिधि एवं कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तेजबहादुर चन्दले सभामुख सहितको टोलीलाई निर्माणका विषयमा अवगत गराएका थिए । ‘मैले सुक्खा बन्दरगाहका साथै मझगाउँ विमानस्थल स्तरोन्नति र दैजीछेला औद्योगिक क्षेत्रका विषयमा पनि सबै जानकारी गराएँ,’ चन्दले भने ।
त्यस अवसरमा सभामुख अर्याल, राष्ट्रियसभा अध्यक्ष दाहालसँगै उपसभामुख रुबिकुमारी र राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीलगायत थिए । उनीहरू कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन आएका हुन् ।
भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहस्थलमा पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुल निर्माण लगायतका काम भइरहेका छन् । २ अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सहमति छ । निर्माण कम्पनीका अनुसार सुक्खा बन्दरगाहको हालसम्म १८ प्रतिशत प्रगति भएको छ ।
बन्दरगाह निर्माणका लागि दोधाराचाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा १ हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो । बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबिच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा २ वटा गोदाम, क्वारेन्टाइन, भन्सार चेकजाँच, इमिग्रेसन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुनेछन् ।




प्रतिक्रिया