मोदी जनकपुर पुग्दा ‘नो मास्क’, काठमाडौंमा २५ मिनेट सडक खाली


काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार नेपाल आउँदैछन्। २ दिने नेपाल भ्रमणमा आउन लागेका मोदी भारतको बिहार राज्यस्थित पटनाबाट हेलिकोप्टरमा नेपालको प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर पुग्नेछन्।

मोदीका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। उनको सुरक्षाका लागि जनकपुरको जानकी मन्दिर र बाह्रबिघा क्षेत्र परिसरमा मोटरसाइकलको हेलमेट, झोला समेत लिएर हिँड्न पाइने छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार सूचना जारी गरी शुक्रबार मोदीको सवारीमार्ग, जानकी मन्दिर तथा बाह्रबिघाको एक सय मिटर क्षेत्रमा मास्क प्रयोगमा समेत निषेधको घोषणा गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि अर्को सूचना जारी गरी शुक्रबार बिहान ६ बजेदेखि बेलुका ३ बजेसम्म ट्रक, टिपर ट्याक्टर, टेम्पो, ई–रिक्सा लगायतमा निषेधको घोषणा गरेको छ।

बस, चारचक्के सवारी, दुईचक्के सवारी र आकस्मिक सवारीहरु मात्र चलाउन पाइने ट्राफिक प्रहरीले जनाएको छ।

मोदीको आवागमन हुने सडकमा पर्ने पसल तथा घरको झ्यालढोका सवारीको एक घन्टाअघि नै बन्द गर्नुपर्ने पनि प्रहरीले जनाएको छ।

यसैगरी, मोदी शुुक्रबार नै नेपालको राजधानी काठमाडौं आउनेछन्। उनी यहाँ पुग्दा काठमाडौंका विभिन्न रुटका सडक २५ मिनेटसम्म खाली गराउने ट्राफिक प्रहरीले तयारी गरेको छ।
उनी

शुक्रबार अपराह्न साढे १ बजे जनकपुरबाट काठमाडौंमा उत्रनेछन्। विमानस्थलबाट उनी गौशाला, चावहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्।

मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराउने तयारी छ। मोदीको कार्गेड चावहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइनेछ।

याे पनि पढ्नुस्

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

प्रतिक्रिया दिनुहोस
Advertisement