मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।

‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’

मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेकाे खबर नयाँ पत्रिका देनिकले छापेकाे छ ।

मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग २९ वैशाखमा भेटवार्ता गर्ने गरी कार्यतालिका बनिरहेको छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा मोदीसँग पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यतालिकामा छलफल भइरहेको छ ।

प्रधानमन्त्री मोदीको यो तेस्रो औपचारिक भ्रमण हुनेछ । उनी ०७१ साउन १८ र १९ मा राजकीय भ्रमणमा आएका थिए भने सोही वर्ष मंसिर ९ देखि ११ सम्म सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आएका थिए ।

९ मंसिरमा मोदी जनकपुर जाने कार्यक्रम भए पनि सुरक्षाका कारण स्थगित भएको थियो । उनलाई स्वागत गर्न तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि जनकपुर पुगेका थिए, तर मोदी नआउने तय भएपछि १० मंसिरमा फर्केका थिए ।

मोदीको सुरक्षामा कमी हुँदैन : सेना

सेनाले मोदी भ्रमणका लागि सुरक्षाको तयारीमा कमी नहुने बताएको छ । सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘भिभिआइपी भ्रमणका वेला सुरक्षा व्यवस्था सेनाले नै गर्ने हो, हामी तयारी अवस्थामा छौँ ।तर, औपचारिक रूपमा हामीलाई यो मितिमा भ्रमण हुन्छ भन्ने खबर आइसकेको छैन ।’

प्रधानमन्त्री मोदीले यसअघि संविधानसभालाई सम्बोधन गरेका थिए । यसपटक त्यस्तो कार्यक्रम राखिएको छैन । उनले पशुपति मन्दिर दर्शन गर्ने–नगर्ने पनि अझै तय भएको छैन । तर, पशुपतिनाथमा मोदीले घोषणा गरेको सहयोगका आधारमा धर्मशाला निर्माण कार्य यतिवेला धमाधम भइरहेको छ ।

मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास हुनेछ । स्रोतका अनुसार काठमाडौंमा स्विच दबाएर शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारको आयोजनामा अभिनन्दन : जितेन्द्र सोनल

भौतिक पूर्वाधारमन्त्री (प्रदेश २)

भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने गरी तयारीमा छौँ । बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नचाहिँ तय हुन बाँकी छ ।