मोदीको जनकपुर भ्रमणबारे भिम रावलले दिए यस्तो कडा टिप्पणी


काठमाडौ‌- नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा अभिनन्दनमा ४ भाषा प्रयोग गर्न लागिएको समाचारबारे टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनंदनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो संबिधान विपरीत भएको बताएका छन् । प्रदेश नं २ को जनकपुरमा मोदीको भ्रमण हुने भनिएपछि मोदीलाई दिइने अभिनंदनपत्र चार भाषामा हुने हल्ला चलेको छ ।

नेता रावलले संविधान विपरीत चार भाषामा लेखेर देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने ? भनेर प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्,‘भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनंदनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो नेपालको बिदेश सम्बन्ध केन्द्रले हेर्ने र सरकारी कामकाजको भाषा नेपालीहुने संबिधानको प्रावधान विपरीत छ । या अंग्रेजीमा हुनुपर्थ्यो । देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने ? ’

उनको ट्वीटलाई सहमत जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २ नंम्बर प्रदेशले यस्तो काम गर्नु जायज र संविधानअनुसार नभएको टिप्पणी समेत गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैसाख २८ गते भारतको पटना हुँदै जनकपुरबाट नेपाल भ्रमणको शुरुवात गर्दैछन् । प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिका नागरिक अभिनन्दन गर्नेछ । २९ गते उनी मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्कने र काठमाडौं महानगरपालिकाले पनि उनलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् ।

यो उनको नेपालमा दोस्रो राजकीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement