काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याइने घोषणा गरेका छन्।
यससम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसदमा प्रस्तुत गरिने मोदीले घोषणा गरेका छन् ।
बिहीबार मध्यराति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कानुनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी रहेको पनि बताएका छन् ।
राति १२ बजे आफ्नो एक्स अकाउन्टमार्फत् २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गरी मोदीले पेपर लिक सामान्य विषय नभएको जनाए । ‘यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीडादायी विषय हो,’ सम्बोधनमा उनले भनेका छन्।
विगत साढे दुई महिनामा दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको र विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिन छोटो समयमै २२ लाख विद्यार्थीको परीक्षा गराइएको उनको भनाइ छ ।
सरकारले यतिमै सन्तुष्ट नरहने स्पष्ट गर्दै पेपर लिक मुद्दाको छिटो सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्न निर्देशन दिइसकेको पनि मोदीले बताए। सम्बन्धित विभागहरूले कानुनको मस्यौदा तयार पारेर बुझाइसकेको र त्यसमा फास्ट ट्र्याक अदालत तथा कडा सजायको व्यवस्था समेटिएको उनको भनाइ छ।
यसअघि पनि मोदीले पेपर लिकसम्बन्धी मुद्दाका लागि फास्ट ट्र्याक अदालत गठन गरिने बताएका थिए। यो सम्पूर्ण विवाद मे ३ मा सम्पन्न भएको नीट यूजी प्रवेश परीक्षाको प्रश्नपत्र लिकसँग सम्बन्धित हो।
सोही घटनाको विरोधमा दिल्लीको जन्तर–मन्तरमा कक्रोज जनता पार्टी (सीजेपी)ले एक महिनादेखि प्रदर्शन गरिरहेको छ। सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनसम्म अनसन गरेका थिए भने संसद्मा पनि यस विषयमा विपक्षी सांसदहरूले विरोध जनाइरहेका छन्।
वाङ्चुकले तोडे अनसन
सामाजिक अभियन्ता वाङचुकले २६ दिन लामो आफ्नो अनशन तोडेका छन्। नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर विद्यार्थीहरूको मागलाई समर्थन गर्दै उनी अनशनमा बसेका थिए।
भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनले विहीबार राति अनशन तोडेका हुन्।
वाङचुकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेखेर मलाई अनशन तोड्न आग्रह गर्नुभएको थियो। यो निर्णय विभिन्न सर्तहरूमा गरिएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसाको आशंकालाई ध्यानमा राखेर लिइएको छ ।’
उनले यी सर्तहरूबारे चाँडै नै एउटा छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने स्पष्ट पारेका छन्। यसैबीच, उनले आफ्ना समर्थक र जनतालाई कतै पनि कुनै प्रकारको हिंसा हुन नदिन र सतर्क रहन विशेष अपील गरेका छन्।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। विद्यार्थीहरूको यही माग र आन्दोलनलाई ऐक्यबद्धता जनाउन सोनम वाङचुक विगत २६ दिनदेखि अनशनमा बसेका थिए।





प्रतिक्रिया