राजदूत नियुक्तीको तयारीमा सरकार, चीनमा तुलाधारको नाम सिफारीस गर्ने सहमती


काठमाण्डु – सरकारले राजदूत नियुक्तीको तयारी सुरु गरेको छ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजदूत नियुक्ती गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । तर, प्रधानमन्त्री देउवा भने कांग्रेसको महाधिवेशनपछि मात्र राजदूत नियुक्त गर्ने अडानमा छन ।

‘राजदूत नियुक्तीको लागी छलफल भएको छ । तर, प्रधानमन्त्रीज्यु महाधिवेशनपछि गरौं भन्नेमा हुनुहुन्छ । चीनमा भएपनि राजदूत नियुक्त गरौं भनेर हाम्रो अध्यक्षले सुझाव दिनुभएको छ ।’ माओवादी केन्द्रका अध्यक्ष दाहाल निकट स्रोतले भन्यो ।

अहिले चीन,अष्ट्रेलिया,जापान र डेनमार्कलगायत २० मुलुकमा राजदूक्त रिक्त छ । त्योमध्ये १४ देशका लागी राजदूत नियुक्ती भागवण्डाका आधारमा गर्ने तयारी छ ।

यसअघि सरकारले भारतमा शंकर शर्मा,अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्ने निर्णय गरिसकेको छ । तिनै जनाको संसदिय सुनुवाई आज चलिरहेको छ । उनिहरु तिनै जना प्रधानमन्त्री देउवाकै सिफारीसमा राजदूत भएका हुन ।

राजदूत नियुक्तका लागी सत्तारुढ दलका नेताहरुले मात्र होईन परराष्ट्रमन्त्री डा.नारायण खड्काले समेत प्रधानमन्त्री देउवालाई चांडो प्रक्रिया अघि बढाउन आग्रह गरेको स्रोतको दावी छ ।

रिक्त २० मुलुकमध्ये ७ देशमा परराष्ट्र सेवाबाट पठाउने गरी गृहकार्य भइरहेको छ । मन्त्रालयका सहसचिवहरु निर्मल काफ्ले, लोकबहादुर थापा,हरिशचन्द्र घिमिरे, तेजबहादुर क्षेत्री र घनश्याम लम्शाललगायत मध्येबाट राजदुत नियुक्ती गर्ने तयारी छ ।

सरकारले यसअघि भारत र अमेरिकाजस्ता देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेपनि चीनमा भने राजदूत नियुक्त नगरेपछि त्यसको आलोचना भएको थियो । कूटनीतिक क्षेत्रका जानकारहरुले चीनलाई देउवा नेतृत्वको सरकारले महत्व नदिएको आरोप समेत लगाएका थिए ।

बेइजिंगस्थित दूतावासमा अहिले भर्खरै सहसचिवमा बढुवा भएका कौशलकिशोर राय कार्यबाहक राजदूतका रुपमा कार्यरत छन् । उनि यसअघि बेइजिंगमै काउन्सिलरका रुपमा कार्यरत थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकिकृत समाजवादीका अध्यक्ष नेपालको दबावपछि चीनमा भएपनि राजदूत पठाउन प्रधानमन्त्री देउवा तयार भएको स्रोतको दावी छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालको सिफारीसमा चीनमा मिलन तुलाधारलाई राजदूत बनाउने टुंगो लागेको छ । उनी खनाल प्रधानमन्त्री हुंदा विदेश मामिला सल्लाहकार थिए । त्यसैगरी डेनमार्कमा सृष्ठी राणालाई राजदूत बनाउने टुुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement