अर्थ पत्रपत्रिका

उच्च निगरानीमा पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्ड

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो ।

dish home

महालेखा परीक्षकको कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्मको तीन वर्षको अवधिमा मात्रै झन्डै ६ अर्ब कारोबार भएको थियो भने नेपाल पर्यटन बोर्डले पनि गत तीन वर्षको अवधिमा झन्डै साढे चार अर्बको कारोबार गरेको छ ।

महालेखा परीक्षक कार्यालयले यी दुवै निकायलाई पटक-पटक लेखापरीक्षण गराउन ताकेता गरे पनि दुवै निकायले बेवास्ता गर्दै आएपछि दुवै निकायलाई उच्च निगरानीमा राखी अन्तिम पटक ताकेता गरेको छ ।

महालेखाले दुवै निकायबाट त्यस अवधिमा गरिएको झन्डै साढे १० अर्बको कारोबार शंकास्पद देखिएको बताएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले दुवै निकायलाई लेखापरीक्षण गराउन पटक-पटक ताकेता गर्दा पनि अटेरी र बेवास्ता गरेकाले दुवै निकायको कारोबार शंकास्पद देखिएको बताए ।

‘विभिन्न बहाना देखाएर उनीहरूले लेखापरीक्षण गर्न अटेरी गर्दै आएकाले शंका उत्पन्न भएको हो’, शर्माले भने ।

महालेखाले दुवै निकायलाई फागुनसम्म हालसम्मको सम्पूर्ण कारोबारको लेखापरीक्षण सम्पन्न गर्न अल्टिमेटम दिँदै पत्र पठाएको छ । ‘दुवै निकायलाई अन्तिम पटक फागुनसम्म समय दिएका छौं, यो अवधिमा लेखापरीक्षण नगरिए सबै खर्च दुवै निकायका जिम्मेवार पदाधिकारीले व्यहोर्ने गरी महालेखाले आवश्यक निर्णय गर्नेछ’, महालेखा परीक्षक शर्माले भने ।

महालेखा परीक्षकको कार्यालयले आफ्ना लेखापरीक्षकलाई साउनदेखि नै पशुपति क्षेत्र विकास कोष र पर्यटन बोर्डमा लेखापरीक्षणका लागि खटाउँदै आए पनि दुवै निकायको असहयोगका कारण लेखापरीक्षकले लेखापरीक्षण गर्न पाएका छैनन् । दुवै निकायले विभिन्न बहाना बनाउँदै लेखापरीक्षकलाई फर्काउँदै आएपछि महालेखा परीक्षक कार्यालय आक्रोशित बनेको हो ।

महालेखाका अनुसार यी दुवै निकायले स्रेस्ता तयार नभएको, पदाधिकारी फेरिएको फेरियै हुँदा समस्या भएको भन्दै लेखापरीक्षण गराउन आनाकानी गर्दै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोषको खर्च पारदर्शी नभएका भन्दै पारदर्शी बनाउने अभियान थालिनेछ ।

‘महाशिवरात्रिको अवसरसँगै पशुपतिनाथको नाममा आउने रकम र हुने खर्चलाई समेत पारदर्शी बनाउने अभियानस्वरूप कोषको तीन वर्षको सबै हिसाबकिताब मागेका छौ‌ं’, महालेखा परीक्षक शर्माले भने ।

महालेखा परीक्षकको कार्यालयले आइतबार मात्रै पशुपति क्षेत्र विकास कोषको तालुक निकायका रूपमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालगायत उच्च अधिकारीलाई कार्यालयमै बोलाएर कोष र बोर्डको तीन वर्षको लेखापरीक्षण फागुन मसान्तसम्म गराउन निर्देशन दिएको छ ।

यसअघि पनि महालेखाले तत्कालीन सचिव शंकर अधिकारी र महेश्वर न्यौपानेलाई बोलाएर त्यस्तो निर्देशन दिए पनि दुवै निकायले समयमै लेखापरीक्षण गराएका थिएनन् ।

महालेखाका एक अधिकारीले पर्यटन बोर्डमा व्यापक अनियमितता भएकाले लेखापरीक्षणमा आनाकानी गर्दै आइरहेको दाबी गरे । पर्यटन वोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले बोर्डको लेखापरीक्षण सम्पन्न गर्न ढिलाइ भएको स्विकारे । विगतमा केही ढिलाइ भएकै हो अब भने हामी सकेसम्म छिटो लेखापरीक्षण सम्पन्न गर्ने गरी अगाडि बढेका छौं, कार्यकारी निर्देशक जोशीले अन्नपूर्णसँग भने ।

जोशीले बोर्डमा आफू आएको डेढ वर्ष मात्रै भएको र त्यसअघि अख्तियारको छानबिन तथा भूकम्पका कारण तथा पछिल्लो समय लेखाका कर्मचारीको फेरबदलका कारण पनि लेखापरीक्षण समयमा हुन नसकेको जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका लेखा प्रमुख निर्देशक प्रेमहरि ढुंगानाले विगतमा अख्तियारको कारबाही प्रक्रिया र स्रेस्ता व्यवस्थापनको समस्याले लेखापरीक्षणमा केही ढिलाइ भएको स्विकारे ।

ढुंगानाले महालेखा परीक्षकको कार्यालयले फागुनभित्र अल्टिमेटम दिएकाले यो समयभित्र तीन वर्षकै लेखापरीक्षण सक्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले महालेखाको निर्देशनबमोजिम पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डका अधिकारीलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

समयमै लेखापरीक्षण सम्पन्न गर्न नसकेको स्विकारेका दुवै निकायलाई फागुनभित्रै लेखापरीक्षण सम्पन्न गराउन निर्देशन दिएको सचिव देवकोटाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top