काठमाण्डु – समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा देखिएका सबै समस्याविरुद्ध चैत २४ गते जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ ।
देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाका विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्त्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
चैतको पहिलो हप्ता मधेशमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय भएको उनले बताए । मोर्चाको बैठकले जिल्ला–जिल्लामा मोर्चाको संगठन संरचनालाई विस्तार गर्ने र यसअघि नै गठन भएका जिल्ला स्तरीय मोर्चालाई थप सक्रिय बनाउने निर्णय गरेको छ ।
बैठकले उपेन्द्र यादव मोर्चाबाट बाहिरिएपछि मधेशको जिम्मेवारी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । मोर्चाको विचार र उद्देश्य आमजनतामा पुर्याउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया