अब मोटरसाइकलको पछाडी बस्नेलाई पनि हेलमेट अनिवार्य


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको छ ।

महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको जानकारी दिए ।

‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ । यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत (पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ,’ पन्तले भने ।

हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले जानकारी दिए । उनले नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको बताए ।

विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ ।

सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement