बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग शुक्रबार नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवर्ता गरेको छ । मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचना अनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको भेटपछि मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
उनले बेलायत सरकारका तर्फबाट ५ नं प्रदेश सरकारसँग सहकार्य गर्न देखाइएको सद्भावप्रति प्रदेश सरकारका प्राथमिकता निर्धारण गरी छिट्टै नै कार्यान्वयनका लागि अनुरोध गर्ने बताए । सो टोलीले प्रदेश ५ मा खासगरी विकास, कृषि र वातावरणीय संरक्षणको क्षेत्रमा काम गर्नसक्ने भेटमा राजदूत मोरिकले आफूलाई जानकारी गराएको समेत मुख्य मन्त्रीले बताए ।

उनले प्रदेश सरकारलाई परियोजनाका लागि वैदेशिक सहयोग जुटाउन सक्ने भए पनि यसको संघीय सरकारसँग पूर्व अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाका बारेमा राजदूतको टोलीलाई स्पष्ट गराउनुका साथै प्रादेशिक योजना आयोगको निर्माणपछि लगानीका विषयमा छलफल गर्न सकिने समेत आफूले जानकारी गराएको बताए ।
मुख्यमन्त्रीसँगको भेटमा डिएफआइडी नेपालका प्रमुख डा रुरिक मार्सर्दनलगायत बेलायती राजदूतावासका प्रतिनिधि र डिएफआइडीका अन्य प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया