मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नरबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पश्चात मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे । त्यसै गरी गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र उक्त समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पुर्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह मुख्यमन्त्रीको आग्रह थियो । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सीधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए ।

त्यसैगरी मुख्य मन्त्री पोखरेलले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement