खच्चड चराउँदै, सुन ओसार्दै

खच्चड चराउँदै, सुन ओसार्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा उनको खच्चड व्यवसाय छ । उनी होटल पनि चलाउँछन् । गुरुको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो ।

असार ११ गते राति गुरुङ आफ्ना गोठालासहित बेसी झर्दै थिए । गोठालाले मालिकले सुन ल्याएको सुराकी केही युवालाई दिए । सुन ल्याइरहेका गुरुङमाथि आक्रमण भयो । धनकमल खच्चडको भारी फुकाएर आक्रमणकारीबाट बच्न सफल भए । उनले सुन पनि लुकाउन भ्याए । आक्रमणको घटनाबारे माछाखोला प्रहरी चौकीमा जानकारी भएपछि प्रहरी घटनास्थलमा पुग्यो । आक्रमणकारी भागे । धनकमल पनि फरार भए । भाग्दै गरेका आक्रमणकारीमध्ये तीनजना गुम्दाबाट पक्राउ परे भने अन्य ६ जना फरार छन् ।

धनकमल भने यसबीच तीन फेर परिवारको सम्पर्कमा तथा खोर्लाबेसीमा देखा परिसकेका थिए । उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । सुनका मुख्य कारोबारी तिब्बती नागरिक भएको र प्रमुख भरिया छेकम्पारका बासिन्दा भएको अनुमान छ । १६ किलोग्राम सुनसहित एक महिनादेखि फरार धनकमललाई प्रहरीले बिहीबार धार्चे गाउँपालिका–३ बाट पक्राउ गरेको छ ।

गोरखाका एसपी ओम अधिकारीका अनुसार खोर्लाबेसीको जंगलको ओढारमा लुकाई–छिपाई राखेको १६ किलोग्राम सुन पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धनकमलले चुमनुब्री गाउँपालिका–७ छेकम्पारबाट खच्चडमा बोकाएर सुन ल्याएको स्वीकार गरेका छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।