मुस्लिम समुदायले धूमधामका साथ मनाइँदै बकर-इद


काठमाडौं – मुस्लिम समुदायको महान् पर्व बकर इद बुधबार देशभर धूमधामका साथ मनाइँदैछ ।

इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२ औँ महिनाको १० तारिख अर्थात आजबाट यो पर्व मनाइने गरिन्छ । बकर इदको दिन आज नमाजका लागि स्थानीय मस्जिदहरुमा समय तोकिएको छ।

बुधबार बिहानै नुहाइ–धुवाइ गरेर नयाँ लुगा लगाई इदगाह, मस्जिद वा खुला मैदानमा भेला भई सामूहिक रूपमा नमाज पढ्दै प्रार्थना गर्छन्। यसपछि एक अर्कासँग अंकमाल गरेर ईदुल अजहाको बधाई तथा शुभकामना साटासाट गर्छन्। बिहानैदेखि देशभरका मस्जिदहरूमा भीड लागेको छ।

इदुल फित्र (इद) पर्वको ठिक ७० दिनपछि सुरु हुने बकर इद पर्व ३ दिनसम्म मनाउने गरिन्छ। बकर इदको नमाजपछि पशुचौपायाको बलि (कुर्बानी) दिने गरिन्छ। कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ। एक भाग आफ्ना घर परिवारका लागि अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एवम् असक्षम मानिस लागि छुट्याउनु पर्ने धार्मिक किम्वदन्ती छ। यो पर्वमा कोही पनि मासु खानबाट वन्चित नहुन् भन्ने सामाजिक परम्परा रहिआएको छ।

अल्लाहको आदेशमा इब्राहिमले आफ्नो प्यारो छोरा इस्माइलको बलि दिन तयार भएको सम्झनामा यो पर्व मनाईन्छ। अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो को हो, त्यसको कुर्बानी दिनुपर्छ भनेपछि उनले आफ्नो छोरा इस्माइल अलैहस्लामलाई कुर्बानी दिन तयार भएका थिए।

इब्राहिमले आँखामा पट्टी बाँधेर आफ्नो छोरा इस्माइलको कुर्बानी दिने क्रममा अकस्मात छोराको ठाउँमा दुम्बा (मरुभुमिमा पाइने भेडा) कुर्बानी भएको थियो। पछि आँखा खोल्दा कुर्बानी छोराको नभएर भेडाको भएको थियो। सोही घटनाको सम्झनामा यो पर्व मनाइने गरेको मुस्लिम धर्मगुरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement