भ्रष्टाचार गरेको आरोपमा सेनाका जर्नेल राणा र कर्णेल सिल्वाल सैनिक प्रहरीको नियन्त्रणमा


काठमाडौं– नेपाली सेनाका सहायकरथी प्रयोगजङ्ग राणालाई सेनामा आर्थीक अनियमितता गरेको भन्दै सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी महासेनानी नवीन सिल्वाललाई पनि सैनिक हिरासतमा राखिएको छ ।
शुक्रवार सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अनियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सेनाको अदालतले गरेको थियो ।

नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरेको छ । उक्त नितिअनुरुप राणा र सिल्वालमाथी छानविन चलिरहेको छ ।

राणामाथी दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पांचखालमा हाकिम रहंदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जिपिओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ भने सिल्वालमाथी पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै छानविन चलिरहेको छ ।

सेनाले उपरथी आननन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन् ।  पांचखाल अनियमिततामा जोडिएका अन्य १२ जना अफिसरहरुको बयान सम्पन्न भइसकेको छ भने त्यहांका सुवेदार मेजर समेत थुनामा छन् ।

सहायकरथी राणा र प्रमुख सेनानी सिल्वाललाई प्रमाण नस्ट गर्न नपाउन् भन्ने ध्येयले विहिवार सुन्धाराछेउ अवस्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स गेस्ट हाउसमा लाइन अरेस्ट गरेर राखिएको छ । उनिहरुको बयान लिने क्रम समेत जारी छ ।

सहायकरथी राणा सेनामा सधै आकर्षक ठाउंमा जिम्मेवारी पाउंदै आएका थिए । उनलाई आर्थिक अनियमितता गरेको आरोप यसअघि लागेपनि सेनाका उच्च तहका अधिकारीहरु उनका आफन्त पर्ने भएकाले उनलाई अहिलेसम्म कुनै कार्वाही भएको थिएन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले भने राणामाथी कार्वाही अघि बढाएका हुन् ।

राणाले शान्ति सेना, सैनिक प्रहरीको गण कमाण्ड, भक्तपुरस्थित सैनिक बिध्यालय र सैनिक अस्पताल छाउनीमा जिम्मेवारी सम्हालिसकेका छन् ।  राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए । सहायकरथी राणाले भारतबाट एनडिसी कोर्स गरेका थिए । उनी उपरथी हुने लाईनमा समेत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement