काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चरम अव्यवस्थापन र कमजोर वित्तीय अवस्थालाई लिएर गम्भीर असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको शुक्रबार बिहान बसेको बैठकमा निगमको अवस्था, समस्या र सुधारका उपायबारे छलफलका क्रममा मन्त्री पौडेलले निगमको कार्यशैली र व्यवस्थापनलाई लिएर असन्तुष्टि पोखेका हुन्।
मन्त्री पौडेलले नेपाल एयरलाइन्स सुधारका लागि जहाज थप्नु मात्रै पर्याप्त नहुने बताए। जहाजको संख्या बढाउँदैमा निगम नाफामा जान नसक्ने बताउँदै पौडेलले त्यसअघि संस्थानको समग्र व्यवस्थापन चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे।
निगमका जहाजमा पछिल्लो समय आएको प्राविधिक समस्या र भइरहेको आर्थिक क्षतिप्रति मन्त्री पौडेलले प्रश्न उठाए। जहाज सञ्चालनमा देखिने समस्याको एउटा प्रमुख कारण व्यवस्थापकीय कमजोरी पनि रहेको उनको तर्क छ।
केही समयअघि जापानको टोकियो र इटालीमा निगमका दुईवटा जहाज ग्राउन्डेड भएको घटनालाई स्मरण गर्दै मन्त्री पौडेलले त्यसबाट निगमको आर्थिक अवस्थामा प्रत्यक्ष असर परेको बताए।
जहाज ग्राउन्डेड भएपछि उडानका लागि टिकट काटिसकेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। त्यस क्रममा निगमले ठूलो अतिरिक्त खर्च व्यहोर्नुपरेको पनि उनले गुनासो गरे।
पौडेलले जहाज थप्ने योजनाभन्दा पहिले निगमको व्यवस्थापन, सञ्चालन प्रणाली र आर्थिक अनुशासन सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।




प्रतिक्रिया