जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिने गरी विधेयक पारित हुनु दुखद :एमाले नेता अग्नि खरेल


झापा – नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले विवाहको जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिनु गलत भएको बताएका छन् । विर्तामोडस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले विदेशबाट विवाह गरेर नेपाल आउने बित्तिकै ‘वैवाहिक अंगिकृत’ नागरिकता प्राप्त हुने गरी विधेयक पास हुनु दुखद भएको बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण लगत्तै नागरिकता विद्येयक पारित हुनुले थप आशंका जन्माएको धारणा राखे । नागरिकता विद्येयकमा माओवादी केन्द्र र एकिकृत समाजवादीले दोहोरो भूमिका खेलेको उनको आरोप छ ।

‘प्रचण्डको दोहोरो चरित्रका कारण यो समस्या आयो । माधव नेपालहरु पनि आफ्नो अडानमा टिक्न सकेनन् । नागरिकताजस्तो संवेदनशिल विषयमा सत्ताका लागि सम्झौंता गर्ने काम भयो । यो गलत भयो । ’ खरेलले भने ।

पुर्व कानुनमन्त्री समेत रहेका नेता खरेलले भारतसंग समानताको सिद्धान्त अख्तियार गरेर ७ वर्षको समयावधि राख्नुपर्ने एमालेको धारणा भएको र त्यहीअनुसार संशोधन प्रस्ताव दर्ता गरिएको बताए । उनले प्रस्ताव कार्यान्वयन नहुने थाहा पाएर नै पार्टीको अडानस्वरुप दर्ता गरिएको जानकारी दिए ।

माओवादी केन्द्रले सुरुमा ७ वर्षको समयाअवधि राख्नपर्ने अडान राख्दै आएपनि विहिवार भने माओवादीले लाइन चेन्ज गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालको भारत भ्रमणलगत्तै माओवादीको अडान फेरिएको भन्दै आलोचना भएको छ । भारतमा विहे गरेर गएका नेपाली महिलाले त्यहांको नागरिकता पाउन ७ वर्षको समय लाग्ने गरेको छ ।

तर, नेपालमा विहे गरेर आएका भारतिय महिलाले भने तुरुन्तै नागरिकता पाउने भएका छन् । नेपालमा पनि ७ वर्षे प्रावधान राख्नपर्ने अडान एमालेले राखेपनि बिहिवार संसदबाट बहुमतले पारित भएसंगै यो सम्भावना अन्थ भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement