नक्कली नोट छाप्दै गरेका २ भारतीयसहित ८ जना पक्राउ

नक्कली नोट छाप्दै गरेका २ भारतीयसहित ८ जना पक्राउ


सर्लाही– नक्कली नोट छाप्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

सर्लाही प्रहरीले शनिबार राति भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनीबाट नक्कली नोट बनाउने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात मगर, कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका–१ कुपनडोल घर भएका ३३ वर्षीय सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ घर भएका ३७ वर्षीय अमिर खत्री रहेका छन् ।

यस्तै प्रहरीले भारतको सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानीटंकी घर भएका ४० वर्षीय सुवोध कुमार, भारत सीतामढी थाना बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, सर्लाहीको गोडैता नगरपालिका–१२ मधुबनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहटको चन्द्रपुरका ३७ वर्षीय विशाल राईलाई समेत पक्राउ गरेको छ ।

मधुबनीमा सिँचाईका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरुको साथबाट एक हजार नोटको साइजमा काटिएको कागज १४ थान, विभिन्न रंगको आठ लिटर केमिकल, ९५ हजार ८०५ नेपाली रुपैयाँ, १० थान मोवाइल सेट, एउटा नेपाली स्कारपियो गाडी र दुईवटा भारतीय मोटरसाइकल बरामद गरेको छ।

उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुसन्धान अघि बढाइएको छ ।