भ्रष्टाचारी माओवादीभित्र पनि हुन सक्छन्: गृहमन्त्री श्रेष्ठ


काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको बताएका छन् । आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचारी नेकपा माओवादी केन्द्रभित्र र सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताएका हुन्।

‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’, उनले भने ।

त्यस्तै मन्त्री श्रेष्ठले कानुनको दायराबाट कुनै दोषी नउम्कने गरी काम गरी रहेको बताए । सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय भएको श्रेष्ठले उल्लेख गरे । ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई पूर्व सर्त बनाएर प्रधानमन्त्री अघि बढ्नु भएको छ । पार्टी वा व्यक्तिहरू कुन हैसियतका छन् भन्नेमा निरपेक्षतामा रहेर कुनै पूर्वाग्रह नराखेर कुनै दोषीलाई नछोड्ने गरी काम गर्ने छौँ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement