प्रधानमन्त्रीले भारतको सहयोग भएर प्रधानमन्त्री बने भन्नु भएको छैन् : गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरित भएकाे बताएका छन् ।

बिहीबार प्रेस सेन्टर नेपाल भरतपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरित भएकाे बताएका हुन् ।

‘हाम्रो प्रधानमन्त्री नेपालको संसदले निर्वाचित गरेको प्रधानमन्त्री हो र यही जननिर्वाचित सरकार र जनताको शासन प्रणालीको निम्ति सबभन्दा बढी संघर्ष गर्ने नेतामध्ये उहाँ पर्नुहुन्छ भन्ने सबैलाई थाहा छ । त्यो अर्थमा प्रधानमन्त्रीले भन्नु भएको हो भन्ने कुरा मिल्दैन,’ उनले भने ।

नेपालको सरकार बनाउनको निम्ति विदेशको मुख ताक्ने वा विदेशतर्फ धाउने कुरा हुनै नसक्ने बताउँदै श्रेष्ठले भने,‘बाहिर आएको समाचारमै पनि प्रधानमन्त्रीले मैले भारत पठाएँ र भारतको सहयोग भएर म प्रधानमन्त्री भएँ भन्नु भएको छैन ।’

कुनै व्यक्तिले शुभेच्छाका कारणले सहयोग गर्छ भने त्यो अलग कुरा हुने बताउँदै मन्त्री श्रेष्ठले भने,‘जहाँजहाँ दौडेर हुन्छ म सहयोग गर्छु भन्या छ भने त्यो उहाँको कुरा हो । तर नेपालको प्रधानमन्त्री अन्त कहीँबाट बन्दैन, यहीँबाट बन्छ ।’

असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्रीकाे राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement