सुन तस्करी प्रकरणको अनुसन्धानलाई सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने बताएका हुन् ।

‘सुन प्रकरणका सन्दर्भमा सिआइबीले अनुसन्धान गरिरहेको छ, सिआइबीले नै यसलाई टुंगोमा पुर्‍याउँछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘मैले यसअघि सदनमै बोलेको थिएँ- यो संगठित अपराधसम्बन्धी अभियोजन समय ६० दिनको हुन्छ। राष्ट्रिय अनुसन्धानले २० दिन गुजार्‍यो। ५ दिन सरकारी वकिल कार्यालयले नै लगाउँछ, सिआइबीसँग ३५ दिन समय थियो, कति दिन लगाउँछ भनेको हो। सिआइबीले नै सुन प्रकरण टुंगोमा पुर्‍याउँछ।’

नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै गत साउन १० गतेदेखि संसद बैठक अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement