७ वर्षपछि नारायणगढ–बुटवल सडक ९२ प्रतिशत सम्पन्न, यात्रा अब २ घण्टामै

७ वर्षपछि नारायणगढ–बुटवल सडक ९२ प्रतिशत सम्पन्न, यात्रा अब २ घण्टामै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्माण सुरु गरेको झण्डै ७ वर्षमा नारायणगढ–बुटवल सडकखण्डको निर्माण कार्य ९२ प्रतिशत सकिएको छ ।

सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले जानकारी दिए ।

नारायणगढबाट बुटवल पुग्न सामान्यतया २ घण्टा मात्रै लाग्ने गरेको छ । कतिपय निजी सवारी चालकहरु १ घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् ।

नारायणगढबाट ११३.३५ किमी बुटवलको दूरी छ । यो सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । दुवै ठेक्का एउटै चिनिया ठेकेदार कम्पनीले पाएको छ । करिब १६.९९ अर्ब लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ ।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि पटक पटक मिति थप गर्दै आएको छ । ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ । यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई छ लेन र अन्य क्षेत्रलाई चार लेनमा स्तरोन्नति गरिएको छ ।