काठमाण्डु– वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा अस्पतालका सबै डाक्टरहरूले राजीनामा दिएका हुन्।
शनिबारको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै सीडीओ र जिल्ला प्रहरी प्रमुखको राजीनामा मागेका उनीहरुले आफैं राजीनामा दिएका हुन् ।
उक्त अस्पतालमा रहेका करिब ७० चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेको बताइएको छ ।
हाल नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
यस्तैमा चिकित्सक संघले आज देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गरेको छ ।
सोमबार विज्ञप्ति निकालेको संघले घाइते भएका चिकित्सक डा. प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ । साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारवाही माग राखेको छ ।
अहिले डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया