सुशासनको अभियानमा योजनाबद्ध रूपमा कार्य गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ


बाँके – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दीगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताएका छन् ।

गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगञ्जमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० को समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा हुने विभेद न्यूनीकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोचसहित कार्य गर्नुपर्ने बताए ।

गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा देखिने गरी सुधार हुने अपेक्षा रहेको उनले बताए ।

समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोषकुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्त्वबारे आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकीकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धिमूलक भएको चर्चा गरे । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बीचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे । प्रदेशगत अपराधको तथ्यांक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालनमार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारीबोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तर्क्रिया र प्रस्तुतीकरण भएको थियो ।

गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement