नारायणकाजीको असन्तुष्टिपछि माओवादीमा विदेश विभागको नेतृत्व परिवर्तन


काठमाण्डु – नेकपा माओवादी केन्द्रले विदेश विभाग प्रमुख परिवर्तन गरेको छ । माओवादीको स्थायी समिति असोज १३ मा बसेको बैठकले यसअघि नेता राम कार्कीलाई विभागको प्रमुख बनाएको थियो । तर, अर्का नेता नारायणकाजी श्रेष्ठले आफुलाई विभाग नदिएको भन्दै असन्तुष्टि जनाएपछि उनलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

श्रेष्ठलाई माओवादीले प्रवक्ताबाट हटाएर प्रवाश विभागको इन्चार्जको जिम्मेवारी दिएको थियो । जसलाई पार्टीभित्र घटुवा गरिएको रुपमा हेरिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा जारी गरिएको नयां परिपत्रमा कार्यविभाजनलाई सच्याइएको भन्दै श्रेष्ठलाई प्रमुख र कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको उल्लेख छ ।

श्रेष्ठ र कार्की दुवै जना यसअघि माओवादीको विदेश विभागको प्रमुख बनिसकेका छन् । कार्की अहिले माओवादी केन्द्रको प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारीमा छन् । कार्कीले विदेश मामिलाका जानकार र माओवादी निकट पूर्व राजदूतहरुलाई विभागमा राखेर प्रभावकारी काम गर्न सुरुवात गरेका थिए । तर, उनलाई उपप्रमुखमा घटुवा गरिएको छ ।

श्रेष्ठ विदेश विभागको प्रमुख हुंदा विभागमा आफ्नो सचिवालयका सदस्य र गुटका कार्यकर्ताहरुलाई मात्र राख्ने गरेको र कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष दाहाल उनलाई त्यो जिम्मेवारी नदिनेमा थिए । त्यतिमात्र होईन विदेशमा समेत पार्टी र नेतृत्वको भन्दा आफ्नो सम्बन्धलाई मात्र विस्तार गर्न श्रेष्ठले विभागलाई उपयोग गरेको दाहालको बुझाई रहेको बताइन्छ ।

सरकारमा जान श्रेष्ठले धेरै प्रयास गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नबनाउने अडान राखेपछी उनको ढोका बन्द भएको थियो । उनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने योजनामा थिए । तर, दाहालले सुरुमै पम्फा भुषाल र जनार्दन शर्मालाई पार्टी निर्णय विना नै मन्त्री बनाएपछि श्रेष्ठ असन्तुष्ट थिए ।

माओवादी अध्यक्ष दाहालले सधै श्रेष्ठलाई मन्त्रीमा कोटा दिने गरेकोमा यसपटक भने उनिसंगै एकतामा आएपनि अहिले आफुसंग निकट शशि श्रेष्ठलाई मन्त्री बनाएका छन् । श्रेष्ठ पछिल्लो समय दाहालभन्दा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग निकट रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement