बाहिर एउटा भित्र अर्कै कुरा गर्दा समस्या जटिल बन्छ, पार्टी एकताको रक्षा गरौं: प्रवक्ता श्रेष्ठ


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको बाटोमा अघि बढ्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र खुल्ला बहस हुनुपर्ने बताएका छन् । त्यस्तै उनले पार्टी एकताको रक्षा गर्दै समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

‘पार्टी, बर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं’, उनले भनेका छन्, ‘पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।’‬

प्रवक्ता श्रेष्ठले पार्टीभित्र खुला बहस हुन नसक्दा भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्ने प्रवृति मौलाएको बताएका छन् ।

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्कै कुरा गर्ने प्रवृत्ति पनि हो’, उनले भनेका छन्, ‘त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ ।’

त्यस्तै उनले पार्टी भित्रको समस्या समाधानका लागि खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्ने बताए ।

‘अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक ,सैध्दान्तिक ,राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ’, उनले भनेका छन् ।

विगतल एक महिनाभन्दा अगाडि देखि उत्पन्न भएको नेकपाभित्रको विवाद अझै साम्य भएको छैन् । अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच पद बाँडफाँडको विषयमा सहमति हुन नसक्दा नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।

करिब एक महिना दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसक्दा विवाद समाधान हुन नसकेको हो । असार १८ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीको राजीनामा माग गरेपछि उत्पन्न भएको विवाद साम्य भएको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छलेर सचिवालय बैठक बोलाउने बताएपछि दुई अध्यक्षबीचको भेटवार्ता अनिश्चित बनेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement