परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल


काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । उनीहरुबीच श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकको सिलसिलामा भेटवार्ता भएको हो ।

बैठकको साइडलाइनमा दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी भएको हो । खड्का र जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा देउवा शुक्रबार भारत जाँदैछन् । गत असार २९ मा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक भारत भ्रमण जान लागेका हुन् ।

तीनदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै अन्य मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीच विद्यमान पुरानो सम्बन्धलाई ताजगी गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।
भ्रमणका क्रममा देउवाले भारतीय उप–राष्ट्रपति श्री एम वेंकैया नायडूलाई भेट्ने कार्यक्रम रहेको छ भने भारतीय प्रधानमन्त्री मोदीसँग १९ चैतमा दुईपक्षीय वार्ताको कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, भारत भ्रमणमा क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा देउवाले दिल्लीमा रहेका व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ भने स्वदेश फर्किनुअघि उनी वाराणसी जाने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement