चुनाव जितेपछि पहिलोपटक काशी पुगे नरेन्द्र मोदी


एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलले चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार बनारस पुगेका छन् ।

बनारसको विमानस्थलमा भाजपा कार्यकर्ताले उनको भव्य स्वागत गरे । त्यसपछि मोदीले काशी विश्वनाथ मन्दिर पुगेर भगवान् शिवको पूर्जा अर्चना गरेका छन् । भाजपा अध्यक्ष अमित शाहसँग मिलेर उनले मन्दिरमा पूजा गरेका हुन् ।

मोदीले दीनदयाल हस्तकला संकुलमा भाषण गर्दै भने, ‘म भाजपा कार्यकर्ताहरूको आदेशको पालना गर्छु । उनीहरूको सन्तोष नै मेरो जीवनमन्त्र हो । काशीबाट चुनाव जित्ने निश्चित भएपछि म केदारनाथ मन्दिरमा गएर तपस्या गरेको थिएँ ।’ उनले थपे, ‘तपाईंहरूले थुप्रो कार्यक्रम गरेको जानकारी मैले पाएँ । यहाँ चुनावलाई तपाईंहरूले लोकोत्सव बनाउनुभयो । चुनावमा झगडा भन्दा पनि अपनत्व बढी थियो ।

अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभाको ५४२ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको थियो । संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ । त्यस्तै भाजपाको नेतृत्वमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५० सीट छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement