भेनेजुएला प्रकरण : कांग्रेसलाई यसरी ‘काउन्टर’ दिए नेकपाका प्रवक्ता श्रेष्ठले


काठमाडौं– भेनेजुएलको राजनीतिक संकटबारे नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुई खेमामा उभिएका छन्।

राष्ट्रपति निकोलस माधुरोविरुद्ध आन्दोलन भइरहेका बेला त्यहाँका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। र, अमेरिका लगायतका दलहरूले समर्थन गरेका थिए।

तर, भेनेजुएलामा अमेरिकी हस्तक्षेप भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत् भत्सर्ना गरेका थिए।
र, सोही लाइनमा सरकारले पनि विज्ञप्ति जारी गरेको थियो। यद्यपि सरकारले अमेरिकाको नाम नलिएर कुटनीतिक रुपमा विज्ञप्ति जारी गरेको थियो।

तर, भेनेजुएलाका विषयमा कांग्रेसले सरकार विश्वका शक्ति राष्ट्रलाई ललकार्ने बाटोमा हिँडेको भन्दै आपत्ति जनाएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस नेता डा मिनेन्द्र रिजालले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा वक्तव्य निकालेर र प्रधानमन्त्री केपी ओलीले स्वीट्जरल्याण्डबाट शक्ति राष्ट्रहरुलाई ललकारेकोप्रति आपत्ति जनाएका थिए।

रिजालले विश्व समुदाय पुँजीवादी र साम्यवादी गरी दुई ध्रुवमा विभाजित भएको परिप्रेक्ष्यमा अमेरिकाले पुँजीवादको नेतृत्व गरेको र नेपालले साम्यवादको नेतृत्व गरेको टिप्पणी गरे । उनले शक्ति राष्ट्रलाई ललकारेर नेपालको शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न नसकिने बताए ।

तर, बिहीबार नै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसको प्रतिवाद गरेका छन्। श्रेष्ठले भेनेजुएला साम्राज्यवाद र पूँजीवादको विरोध गर्दै समाजवादको दिशातर्फ जाने प्रयत्न गरेपछि अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाए ।

‘साम्राज्यवाद र पूँजीवादको विरुद्ध भेनेयुएला समाजवादको दिशातिर जान प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई असफल बनाउन अमेरिका लागिरहेको छ,’ उनले भने।

उनले भेनेजुएलका पक्षमा बोल्नु भनेको लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताउँदै यो कुनै नयाँ नीति नभई स्पष्ट नीति भएको बताए।

‘यो कदममार्फत भेनेजुएलामा हस्तक्षेप मात्र गरेको नभई लोकतन्त्रकै विरुद्ध हस्तक्षेप भएको छ । त्यसैले हामी लोकतन्त्रिक मूल्य मान्यतााको पक्षमा उभिएका छौँ’ नेता श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement