राष्ट्रियसभा सदस्यका लागि गोप्यरुपमा तीन नाम सिफारिस


काठमाडौं – तीन सदस्यीय मन्त्रिपरिषद्को आइतबार बसेको दोस्रो बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नयाँ नाम सिफारसिस गरेको छ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको बताएका छन् । तर उनले ती नामहरु सार्वजनिक गर्न अस्वीकार गर्दै आवश्यक समयमा सार्वजनिक गर्ने बताएका छन् ।

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो । तर दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको छैन ।

देउवा सरकारले झापाका गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । ‘अहिले सबै कुरा भन्न मिल्दैन,’ एक मन्त्रीले भने, ‘समय आएपछि सबै कुरा बताउँला ।’ यो खबर गोरखापत्र दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement