काठमाण्डु– आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् ।
नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।
सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । त्यसैगरी आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।




प्रतिक्रिया